सुविन भट्टराईको 'नालायक म'
एक पटक पढेर हेर्नुस!
पहिलोपल्ट आफूलाई सहरिया हुलमुलबाट छुटाएर प्राकृतिक
ग्रामीण धुलौटे माटोमा धुस्रोफुस्रो भएको पाएको थिएँ।
मेरो गाउँ खोटाङ।
काठमाडौंका बोर्डिङ स्कुलमा मीन
पचासको बिदा हुने गर्थ्यो। लागेँ हजुरबुवासँग आफ्नो गाउँ हेर्ने
रहर पूरा गर्न। दुई दिन हिँड्दै, ठाउँठाउँमा बास बस्दै
काठमाडौं छाडेको तेस्रो दिन पुर्ख्यौली घर खोटाङ बजार
पुगियो।
एक टिकटमा दुई फिल्म भन्याजस्तै मलाई एक भ्रमणमा दुई
फाइदा हुँदै थियो। कारण– मेरो घर र मामाघर दुवै एकै ठाउँ।
जम्माजम्मी एक घन्टाको दुरी,नौलामा।
'आजदेखि हाम्रो दुस्मनी सम्बन्धमा बदलियोस्,'
हाम्रा घरका र मावलका हजुरबुवाहरूबीच यस्तै
केही भएको थियो रे! अनि बिहा भएको थियो बा र
ममीको। दुवै बूढा प्रधानपञ्च भइसकेका।
एउटा जंगलमा दुइटा बाघबीचमा हुने क्ल्यासजस्तै
बूढाहरूबीच पनि त्यस्तै केही थियो रे।
बिहापछि त्यो सब सकियो।
अतः गाउँमा एउटा नयाँ बालकको प्रवेश
भएको थियो। सबले न्वारन गर्दिए–
पर्धानको नाति।
हाम्रो घरबाट बजार पाँच–सात
मिनेटको दुरीमा थियो। नवग्रामप्रवेशी आधुनिक
स्निग्ध, टाठो सहरिया,
त्यहाँमाथि पर्धानको नाति– सबले भाउ दिन्थे। चिया पसले बोलाएर
चिया पिलाउँथे। सिँगाने केटाकेटी मलाई चिहाइचिहाई
आफ्ना घर दैलोबाट
हेर्थे र आपस्तमा खासखास खुसखुस गर्थे। खाना खान
बोलाउनेहरूको एउटा लघुभीड तयार भइसकेको थियो।
बाटोमा हिँडेका बूढापाका पनि मुन्टो ठाडो पारेर सोध्थे,
'होइन तपैं पर्धानको नाति होइन?'
बूढापाकाहरू पनि 'तपैं' लाउँथे। कहाँ सहरमा सबैले 'तँ तँ र म म'
खेप्दा खेप्दा अभ्यस्त भइसकेको म। मेरी आम्मै!
कत्रो इज्जत हौ गाउँमा!
म त्यस गाउँमा सेलिब्रिटीझैं भएको थिएँ।
...
घर पुगेको तीन–चार दिनपछाडि मलाई मावल जाने मन
भयो। 'भोलि फलानोसँग जालास्,' घरमा काका फूपू,
हजुरबुवा हजुरआमा सबै एकैमुख लागेर मलाई
यसो भनिरहेका थिए। तर मैले कसैको एक सुनिनँ। एक्लै टाप ठोकेँ।
सोध्दै खोज्दै जाऊँला भन्ने ठानेर महसुर भएर हिँडेँ।
हजुरबाको एउटा लामो छाता चोरेर,
त्यसको लठ्ठी टेक्दै। माघको मध्य। लाग्थ्यो मौसमले
बरखी बारेको छ।
हुस्सु र कुहिरोले गर्दा चारैतिर पूरै सेताम्मे।
जहाँजहाँ दुइटा बाटो देखा पर्थे, म टक्क अडिएर सोधिहाल्थेँ,
'नौला जाने बाटो कता होला?' जसलाई प्रश्न सोध्थेँ, त्यो मान्छे
एकपटक मलाई सरसर्ती शिरदेखि पाउसम्म
नियाल्थ्यो अनि फर्काउँथ्यो जवाफ।
कोहीकोही अनावश्यक प्रश्न (को हौ?
कहाँबाट
आयौ? कहाँ जान लागेको? कसका छोरा?
कसका नाति? के थरी आदि टाइपका) सोध्थे।
जाबो एक प्रश्नको उत्तर दिन
मोरामोरीको एउटा पूरै मौखिक फारम भर्दिनुपर्ने! झेलेँ सप्पै।
बल्लतल्ल, ठाउँठाउँमा हराउँदै ओर्दै भए पनि मावल पुगेरै छाडेँ।
हजुरबा हजुरआमाहरू मलाई देख्नासाथ जिल्लिए।
दुई–चार दिन 'झोलीका देउता' भनेर
मेरो खातिरदारी गरिरहे। स्नेहका वर्षाले
सक्दो सिञ्चित गरिरहे। मावली गाउँमा पनि उस्तै इज्जत
भो मेरो। केही बूढापाकाले 'तपाईं' भने।
पर्धानको नाति भनी त्यहाँ पनि कहलिएँ।
मेरा पनि नाकका पोरा बबलगमझैं फुले।
सहरको निस्सादिँदो माहोलमा सबैको व्यवहारबाट
पन्चर भइसकेको छाती एकैचोटि हावा भरिएको ट्युबजस्तै
फुलेर चौडा भएको थियो।
बूढाहरू गाउँका राजै रैछन्– यस्तै पो लाग्यो। धेरै दिन त मन के
अडिन्थ्यो? तीन–चार दिन बसिसकेपछि मलाई घर जान
मन लाग्यो। त्यहाँ पनि 'भोलि फलानोसँग जालास्' भन्दै थिए।
तर मैले मानिनँ। आफंैले इच्छाएकै दिन जाने भएँ।
मेरो ढिपीका अघिल्तिर कसैको केही लागेन।
निस्किनै आँट्या थिएँ। हजुरआमाले भन्नुभो, 'ए पख्!
खाली हात नजा। घरमा यो लगिदे।'
एउटा ठूलो अजंगको काउली ल्याएर
मेरो हातमा थमाइदिनुभो। हजुरबाले पनि 'बाटाखर्च' भनेर गुजुमुज्ज
पारेर मेरो खल्तीमा एउटा नोट हाल्दिनुभाथ्यो। कति थियो,
तुरुन्त थाहा पाइनँ।
तत्कालै हेर्न संकोच लाग्यो। तर कुतुहल
यति थियो कि, कतिखेर हजुरबा हजुरआमाको दृष्टिबाट ओझेल हुनु र
त्यो हेर्नु। अलिक मास्तिर मामाघरबाट ओझेल भइसकेपछि छाता र
काउली बिसाएर नोट झिकेर पढेको थिएँ, लेखिएको थियो–
रुपैयाँ दश, तुरुन्त
पाइने छ। अनि म दाहिने हातले छाता टेक्दै र देब्रे
हातमा काउली राखिएको झोला समाउँदै लखरलखर हिँडे।
केहीबेर हिँडिसकेपछि तिरतिरे धारो आइपुग्यो। जंगल अझ
सुरु भइसक्या थिएन। बाटो सुनसान थियो। फाट्टफुट्ट मान्छे भने
भेटिइरहेकै थिए। जो जो भेटिन्थे ती मलाई
जिन्दगीमा मान्छेको मुखै नदेखेझैं
गरी क्वारक्वार्ती घुर्थे।
तिरतिरे धारा क्रश हुनै
लाग्दा एउटी रातापीरा गाला भएकी,
डोकाभरि भारी बोकेकी केटीसँग
जम्काभेट भो।
उसको गाला हेर्दा लाग्थ्यो, गालाभरि स्याउ टाँसेर
आएकी छ।
टक्क अडिनासाथ मलाई नखशिखान्त निहारी।
अनि सोधी, 'काउली बेच्छौ भाइ?'
गालाभरि स्याउ टाँसेर आएजस्तै देखिने केटी मसँग
जाबो काउली किन्न खोज्छे। मनमनै आफैंसँग हाँसेँ,
'यो बेच्ने काउली होइन दिदी।'
'अनि के गर्ने त?' सोधिन्। 'यो खाने काउली हो,' मैले
अबोध र सोझो पाराको भनाइ राखेँ।
ती केटी मरीमरी हाँस्न
लागिन्। हाँस्दा तिनको दाँत देखिए, जुन ताछिएको नासपातिजस्तै लागे।
हाँस्न पुगिसकेपछि भनिन्, 'मैले पनि खानलाई नै किन्न
खोजेकी भाइ।'
'बेच्दिनँ,' यति भनिसकेर लागँे लुरुलुरु। त्यो केटीले मलाई
नाम्लोले झुकेको शिरले फर्केर परसम्म हेरिरही।
केहीबेर हिँडिसकेपछि जंगल सुरु भो। सोह्र–सत्रवर्षे
टिठोको ओठमाथि बसेको जुँगाको रेखीझैं
सल्लाका रूखको पालतो जंगल। हिँड्दै जाँदा अनेकथोक दिमागमा आयो।
मलाई मनमनै
ती केटीदेखि रिस पनि उठिरहेको थिए।
यसकारण कि, तिनले मलाई काउली बेच्ने
हैसियतको सम्भि्कइन्। अनि बीच बाटोमै
एउटा काल्पनिक ऐना खडा गरेँ र मस्तिष्कले आफ्नो प्रतिविम्ब निहारेँ।
आँखाले टिप्नसक्ने जति दृष्टि आफ्नै कायामा फ्याँँके। अहँ, कुनै
कोणबाट काउली बेच्नेजस्तो लागिनँ– कमसेकम आफ्नै
मूल्यांकनमा।
जंगल पातलै थियो। बाटामा फेरि दुइटी अधबैंसे
महिला भेटिए। दुवैले टक्क अडिएर एलियनलाई झैं घुरेर हेरे। मेरो दुवै
हातमा आँखा पुर्यांए। एउटीले सोधिन्,
'काउली बेच्छौ बाबु?'
यसपालि मैले आफैंले आफैंलाई हेर्ने
आवश्यकता महसुस गरेँ। के आधारमा सब बटुवा मलाई
काउली व्यापारी सम्भि्करहेछन्? मैल
केही जवाफ दिइनँ।
'दस रुपैयाँ दिन्छु।'
मेरो देब्रे हात एकदमै भारी भएजस्तो लाग्यो।
अनि उलनको पाइन्टको दाहिने गोजीमा मन
पुग्यो जहाँ गुजुमुज्ज परेको दसको नोट एक्लै झोक्राएर
बसिरहेको हुँदो हो। अनि यस्सो सोचिहेरेँ– त्यो दसमा यो दस थपिए
बीस हुन्थ्यो। बीस रुपैयाँ भन्या चानचुने
रकम हो र! काठमाडौंमै म दिनको दुई रुपैयाँ टिफिन पाउने
हैसियतको तोरीलाउरे थिएँ। यहाँ बीस
रुपैयाँको मालिक बन्दै थिएँ।
तर जवाफ फर्काउने बेला कुन्नि कुन प्रेरणाले हो, मैले भाउ खोज्दै
भनिदिएँ, 'पन्ध्र रुपैयाँ दिनुहुन्छ भनेमात्र दिन्छु।'
ती महिलाले आँखा फुकाइन्। नाक खुम्च्याइन्। 'इस
दिन्छु' भनेझैं हाउभाउ देखाइन् र
आफ्नी सहयात्रीलाई
'जाऊँ'को भावमा संकेत गर्दै
बाटो लागिन्। एकछिन त म हिस्स परेँ।
जंगल बाक्लिँदै गयो। सल्लाका हाँगाहाँगामा लटरम्म बाँदर फलेका थिए।
अघिपछि हेरेँ। परपरसम्म
कोही देखिएन। केही बाँदर फाल हान्दै
मतिर आइरहेका, केही मलाई पछ्याइरहेका।
केही रूखबाटै
क्वारक्वार्ती घुरिरहेका। मलाई लाग्यो,
केहीबेरमै सप्पै बाँदर भेला भएर मलाई छ्याप्प छोप्नेछन्
र मेरो हातको सामान खोसेर चिथोर्न थाल्नेछन्।
मनभित्र डरको बाक्लो कुहिरो लाग्यो।
हातमा भएको काउली र छाता छोडिदिएर कुलेलाम
ठोक्नुजस्तो भयो। तर आँट आएन। झन् लखटे भने? मन
दह्रो बनाउनु थियो। तर त्यो कहाँ पो हुन्छ?
आफैंलाई थाहा थिएन। त्यसैले हातखुट्टाले काम चलाएँ।
मुठ्ठी कसेँ। काँपिरहेका खुट्टा नकपाउने यत्न गरेर बल
गरेँ। फटाफट हिँडेँ।
केही मिनेट हिँडिसकेपछि पर
एकजोडी बूढाबूढी देखा परे।
तिनीहरूलाई देख्नासाथ मनभित्रको कुहिरो फाटेर
झलमल्ल घाम लाग्यो। आशाका बिस्कुन ओछ्याइदिएँ। 'होइन के
सारो राम्रो काउली हौ!' उनीहरू ठ्याक्कै
जम्काभेट भइसकेपछि बूढाले मेरो हातको काउलीतर्फ
कुदृष्टि फ्याँक्दै भने।
'किन्नुहुन्छ?' यसपालि म आफैं अग्रसर हुँदै आफूलाई
काउली व्यापारीको कोटीमा लगेर
उभ्याइरहेको थिएँ।
'कतिमा दिन्छौ?' 'बाह्र रुपैयाँ,' अघि पन्ध्र भन्दा किनेनन्, त्यसैले
यसपालि तीन रुपैयाँ घटाउँदाको असर देख्न चाहेँ।
'दसमा देउ,' बूढाले बार्गेन गरिहाले।
दस त के दुई रुपैयाँ भए पनि दिनेवाला थिएँ म, कमसेकम
बाँदरको सम्भावित आक्रमणको डरबाट छुट्कारा पाउन।
बेचिदिएँ काउली। यत्रै सित्ती!
अब म लखरलखर छाता टेक्दै बोझरहित देब्रेहात हावामा हल्लाउँदै
हिँडेँ।
बाँदरको संख्यामा कमी आइसकेको थिएन। तर भरखर
भरिएको दाहिने गोजीमा मन अडिरहँदा भने बाँदरको डर
पनि निक्कै कम भइसक्या थियो। दस
रुपैयाँसँगै मैले अलिकति आत्मविश्वास पनि कमाएँ।
काउली बेचिसकेपछि विचार गरेँ– दाहिने
हातमा भएको छाता किन्ने ग्राहक पनि फेला पर्दिए
कति काइदा हुन्थ्यो! आखिर बहानालाई बाँदरको आतंक विद्यमान थियो।
तर फेला परेनन्। न बर्खा, न झरी, न घाम! कसले
किन्द्योस् मेरो छाता विनाकाम!
अतः घर पुगियो। काउली बेच्या प्रसंग बिर्सिन
चाहिरहेको थिएँ। तर त्यो बिर्सिनलाई
गोजीमा भरिएको दसको नोट पनि बिर्सनुपर्ने हुन्थ्यो। जुन
बिर्सन मलाई पटक्कै मन भएन।
अर्को दिन।
साँझ पर्न लागेको थियो।
हामी सबैजना अँगेनामा वरपर बसेर आगो ताप्दै गफ
गरिरहेका थियौं। जाडो अचाक्ली भएकाले म अधिकांश
अँगेना वरपरै हुन्थेँ। बाहिरैबाट हजुरबाको चर्को स्वर सुनियो, 'सुबिने
कहाँ छ?'
हामी सब सुनिमात्र रहेका छौं। के रहेछ भन्ने
चासोका साथ। फेरि हजुरबाको आवाज आयो, 'आज त्यस
बज्यालाई...!' हजुरबा अँगेनामै पुग्नुभो। हजुरबाको अनुहार
आगोभन्दा बढी राँक्किएझैं लाग्यो, 'कुलंघार, नालायक!'
वरपर आगो तापिरहेका सप्पैको ध्यान हजुरबातिरै केन्द्रित भो।
सबैको मौन प्रश्न आँखैमा थियो। ती प्रश्नलाई मनमनै
बुझेर हजुरबाले भन्नुभो, 'यस
बज्याले के गरेछ थाहा छ, तिमेरलाई?'
'सम्धीनीले घर लैजानू भनेर
एउटा लहलाउँदो काउली दिनुभा रैछ, बज्याले
वेलफेयर अफिसभन्दा अलिक मास्तिर
बाटैमा बेचेछ।' केहीछिनअघिसम्म हजुरबाको गालामात्र
राँक्किएको देखिन्थ्यो उहाँका कुरा सुनिसकेपछि अब
सबैका गाला भुंग्रोजस्ता देखिए।
मलाई आफ्नो विवशताको स्पष्टीकरण पेस गर्ने मन थियो,
तर त्यसका लागि उचित मौका पहिल्याउने ह्याउसम्म भएन। म लाचार
भएँ। आत्मसमर्पण मुद्रामा कुत्सित भएर यथास्थानमा अररिएर
बसिरहेँ। एकपटक फ्ल्यासब्याकमा गएँ।
नौलादेखि घरसम्मको यात्रा गर्दा बाटामा भेटिएका मान्छे र बाँदर
एकैचोटि सम्भि्कन पुगेँ। ती सबैले मेरो नियतमाथि विचलन
नल्याइदिएको भए
यो स्थिति भोग्नै पर्दैन थियो।
'यत्रो वर्ष लगाएर कमाएको इज्जत सावाखोलामै मिल्काइदिइस् हैन!'
बूढा अर्कोपल्ट राँक्किएँ।
म अवाक् भएर सबैको कर्के हेराइ र सुइराजस्तै भनाइ सुनेरै
बसिरहेँ। बाँदरले त तर्साएको मात्र थियो, तर वचनले बिझायो, च्वास्स।
होप्स्योले झैं। मनमनै आफैंलाई 'इस्' गरेँ।
कहाँ पर्धानको नाति भैखाँदै हिँडेको,
काउली बेचुवामा दर्ता हुने भएँ। यो कुराले निक्कै
पोल्यो, अँगेनाको आगोले भन्दा पनि कहाँ हो कहाँ!
Timeline Photos · 4 minutes ago ·
Posted via Blogaway
Comments
Post a Comment