काठमाडौ, जेष्ठ १० - थाइल्यान्डको सेनाले गत मंगलबार सैनिक कानुन (मार्सल ल) घोषणा गर्यो । धेरैले यसलाई अवैधानिक सत्ता नियन्त्रण (कू डेटा) मानेका छन् । तर, यहाँको राजनीतिक सर्वोच्चतामाथि उक्त सैनिक अधिग्रहण कुनै अचम्म र अनौठो घटना होइन । यो त लामो समयदेखि यहाँको शासन फेर्ने माध्यम बनिसकेको छ । मुलुकको राजनीति यो अवस्थामा आइपुग्नुमा यही प्रवृत्ति जिम्मेवार छ ।
थाइल्यान्डको सशस्त्र बलले राष्ट्रको शक्ति केन्द्रको मूलमा पकड जमाउन प्रदर्शनकारीलाई तितरबितर हुने निर्देशन दिएको छ । सञ्चारमा पूर्ण सेन्सरसिप लगाएको छ । राजधानीको प्रमुख थलो वरिपरि सैन्य वाहन तैनाथ गरेको छ । यी सब यहाँ नयाँ घटना होइनन् । किनकि, थाइल्यान्ड संसारकै सबभन्दा बढी 'कू' को भुक्तभोगी मुलुक हो । यो ताजा हस्तक्षेप बाहेक नै यहाँ सन् १९३२ मा पूर्ण राजतन्त्रको अन्त्य भएयता ११ पटक हठात सरकार फ्याँकिए भने ७ पटक यस्तै कूको प्रयास भएका छन् ।
आजको दिनमा पनि मार्सल ल एक्ट, १९१४ ले सार्वजनिक सुरक्षा प्रबन्ध मिलाउने नाउँमा नागरिक संस्थाहरूमाथि सेनालाई सर्वोच्च शक्ति प्रदान गरेको छ । त्यही भएर, प्रजातन्त्रको विभिन्न स्वरूपको ८२ वर्षे अभ्यासमा यो मुलुकले लामो समयसम्म न सेनालाई ब्यारेकमा राख्न सकेको छ, न राजनीतिज्ञलाई सरकारमा टिकाउन नै ।
यहाँ चारवटा 'कू' बारे उल्लेख छ, जसले यसको पछाडिका कारणबारे व्याख्या गर्छ :
शाही शासनको अन्त्य
सन् १९३२ को २४ जुनमा रक्तपातविहीन विद्रोहबाट पूर्ण राजतन्त्रको समापनपछि यहाँ आधिकारिक रूपले कू सिजन आरम्भ भयो । त्यतिबेला सेना, कर्मचारी र महत्त्वाकांक्षी सम्भ्रान्त वर्गको नेतृत्वमा निर्माण भएको तानाबानाले सात शताब्दी पुरानो पूर्ण शाही शासनमा पूर्णविराम लगायो । राजालाई राजनीतिक अधिकारबाट वञ्चित गर्न एक अस्थायी संविधान लागू गरियो । मुलुकमा संवैधानिक राजतन्त्र र संसदीय निर्वाचनको प्रयोग अघि बढाउन यो सब गरिएको थियो । तर, केही वर्षभित्रै क्रमशः शक्तिहरू राजामै पुनस्र्थापित हुँदै गए । अनि राष्ट्रमा गहिरोसँग जरा गाडेको सामन्ती व्यवस्था कायम रह्यो ।
राष्ट्रियताको निर्माण
जापानी अधिग्रहणको अन्त्यपछि छोटो समय नागरिक प्रशासन अनुसरण गरियो । तर, भ्रष्टाचार प्रकरण र युवा राजाको रहस्यमय मृत्युबीच सन् १९४७ मा त्यहाँको राजनीतिक भुदृश्यमा सेनाको पुनरागमन भयो । यस कूले युद्धकालका शक्तिशाली तथा उग्र राष्ट्रवादी फिल्ड मार्शल पलायक फिबुनसोंगख्रामलाई शक्तिमा र्फकन मद्दत पुर्यायो । १९३९ को २४ जुनअघिसम्म देशभित्रै पनि अन्य प्रान्तमा सियाम नामले यस मुलुकलाई चिनिन्थ्यो । थाई परम्परालाई मुलुकको पहिचानका २४ रूपमा प्रवर्द्धन गर्न देशलाई 'थाइल्यान्ड' नाम दिने जस यिनै फिबुनसोंगख्रामलाई जान्छ । उनको शासनकालमा अनगिन्ती राष्ट्रवादी अभियान सुरु भए । त्यसक्रममै प्रसिद्ध राष्ट्रिय परिकार 'पाद थाई'को रचना भयो । उनका कार्यहरूले अधिराज्यकोे विविधतालाई राष्ट्रिय पहिचानको आकार दिन सेनाको सर्वोच्च भूमिकालाई प्रस्ट रूपमा देखायो । उनको कठोर अतिवादी सोचले मुलुकलाई अमेरिकाको नजिक पुर्यायो । यो विश्वासले भियतनाम युद्धमा इन्डो-चाइनामा आक्रमण गर्न थाई हवाई भूमिलाई अमेरिकाले बम वर्षक विमानका लागि प्रयोग गर्यो ।
सेनाको आतंकस्वरुपमा आगमन
लोकपि्रय आन्दोलनले सैन्य शासन अन्त्य गरेको तीन वर्षपछि सन् १९७६ को ६ अक्टुबरमा हिंसात्मक हस्तक्षेपमार्फत पुनः सेना शक्तिमा आयो । राजधानी बैंककबाहिर कुलीनको जमघट हुने थामासात् विश्वविद्यालयमा विद्यार्थीले पूर्वसैनिक शासक थानोम कितिकाचोर्नको आगमनको विरोध गरिरहेका बेला दक्षिणपन्थी अर्धसैन्य समूहले आक्रमण गरेको थियो । यो नरसंहारमा दर्जनौं विद्यार्थी मारिए । सयभन्दा बढी घाइते भए । इतिहासकै अन्धकार अध्यायमध्येको एक मानिने यो काण्डपछि सेनाले फेरि सत्ता कब्जा गर्यो । त्यहाँ विद्यार्थीमाथि आक्रमण हुने व्यापक अनुमान गरिएको थियो । त्यसअघि नै प्रदर्शनकारीलाई शाही विरोधीको रूपमा चित्रण गरिसकिएको थियो ।
थाक्सिनको अन्त्य
सन् २००६ को सेप्टेम्बर १९ मा थाई सेनाले जननिर्वाचित प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई सताच्युत गर्यो । खर्बपति पूर्वप्रहरी अधिकृत सिनावात्रा त्यतिबेला न्यूयोर्कमा राष्ट्रसंघीय सभामा सहभागी भइरहेका थिए । सत्ता पल्टाउने सैन्य प्रयासले ग्रामीण समूह र सहरका श्रमजीवी वर्गलाई आक्रोशित बनायो । यही समूहको मतले थाक्सिनले चुनाव जितेका थिए । लोकपि्रय कल्याणकारी पहलका लागि उनीहरूको थाक्सिनप्रति उच्च सम्मान थियोे । यद्यपि सिनावात्रा प्रशासनमा भएको कथित आर्थिक अनिमितता र राजा भूमिबोल अदुलयादेजप्रति उनको सम्मान नभएको भन्दै राजावादी र सहरका मध्यमवर्ग उचालिए । आफ्नो प्रभाव गुमाइरहेको यो समूहले सिनावात्रालाई हटाउन सेनामाथि दबाब दियो । जनरलहरूले राष्ट्रिय सुरक्षाका चुनौतीलाई 'कू' को आधार बताएका थिए । तर, आफ्नो शक्तिलाई कायम राख्ने प्रयासमा ती सब गतिविधि भएको छर्लङ्गै थियो । सिनावात्राको बहिर्गमनले थाई समाजलाई विरोधाभास स्थितिमा पुर्यायो । र, मुलुकलाई कहिल्यै नटुंगिने राजनीतिक संकटमा चुर्लुम्म डुबायो । यसको समापन गृहयुद्धमा गएर हुने चेतावनी विश्लेषकहरूले दिएका छन् ।
प्रकाशित मिति: २०७१ जेष्ठ १० ०४:१६
Posted via Blogaway
Comments
Post a Comment