के राजकुमार सिद्धार्थले सुत्केरी पत्नी र नवजात छोरालाई अलपत्र पारी मध्यरातमा घर छाडेका थिए ? हरेकजसो बुद्ध साहित्यमा त यही लेखिएको छ । उनले बालक, रोगी, वृद्ध र मृतक देखेपछि वैरागी भएर कसैलाई पत्तो नदिई घर त्यागेका थिए रे । अभय श्रेष्ठ Email avaya.writes@gmail.comThis email address is being protected from spambots. You need JavaScript enabled to view it. लेखकबाट थप शकुनी पासाहरू संसदमा सीमित सभा कोर्ट मार्सलमा दलित संविधान सभामा 'स्वामित्वयही प्रसंगको हवाला दिँदै बुद्धको महानतामाथि प्रश्न उठाउनेहरू धेरै छन् । तर, भारतीय संविधान निर्माता भीमराव अम्बेडकरले यो किंवदन्ती गलत भएको तथ्य प्रस्तुत गरे । अम्बेडरको सन् १९५७ मा प्रकाशित अनुसन्धानात्मक किताब ‘बुद्ध एन्ड हिज धम्म’ ले यससम्बन्धी उद्घाटन गरेको तथ्य स्तब्ध पार्नेखालको छ । रोहिणी नदीको विवादमा अल्पमतमा परेपछि आत्मदण्डस्वरूप उनले देश छाडेका थिए । २९ वर्षसम्म आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले रोगी, वृद्ध र मृतक देखेका थिएनन् होला ? आचार्य धर्मानन्द कौसम्बीलगायत बौद्ध विद्वान्ले यस्तो प्रश्न उठाए । ३५ वर्षसम्म गम्भीर अध्ययनपछि अम्बेडकर सोही निष्कर्षमा मात्र पुगेनन्, उनले बुद्धको जीवनीको एउटा नयाँ पाटै उधिने । पछि अन्य राजनीतिक इतिहासकारले पनि यसलाई पुष्टि गरे । अम्बेडकरका अनुसार शाक्य संघमा छिरेको आठ वर्षपछि शान्ति, न्याय र सत्यको पक्ष लिँदा सिद्धार्थले अकल्पनीय त्रासदी भोग्नुप¥यो । २० वर्ष पुगेका हरेक युवक शाक्य संघको सदस्य हुन्थ्यो । शाक्य र कोलियहरूको राज्यबीचमा रोहिणी नदी थियो । नदीको पानी दुवै राज्यले प्रयोग गर्थे । पानी लगाउने क्रममा दुई राज्यका किसानबीच किचलो भइरहन्थ्यो । सिद्धार्थ २८ वर्ष पुग्दा दुई राज्यका किसानबीच ठूलो झगडा प¥यो । दुवै पक्ष युद्धबाटै समस्या समाधान हुनुपर्ने निष्कर्षमा पुगे । शाक्य सेनापतिले सभा बोलाएर कोलियविरुद्ध युद्धको प्रस्ताव राखे । सिद्धार्थले वार्ताद्वारा शान्तिपूर्ण समाधानमा जोड दिए । दुवै प्रस्तावमाथि मतदान हुँदा सिद्धार्थको प्रस्ताव पराजित भयो । तैपनि उनी युद्ध गर्न सहमत भएनन् । उनका सामु तीन विकल्प थिए– युद्धमा सहभागी हुनु, मृत्युदण्ड भोग्नु वा निर्वासनमा जानु र परिवारको सामाजिक बहिस्कार तथा सम्पत्ति जफत स्विकार्नु । पहिलो विकल्पको उनी पूरै विरोधी थिए । परिवारको विपत्तिबारे उनी कल्पनै गर्न सक्दैनथे । यस स्थितिमा आत्मदण्डस्वरूप उनी सन्न्यासी भएर देश छाड्न राजी भए । सात वर्षको कठोर तपस्यापछि उनलाई ज्ञान प्राप्त भयो । बुद्ध स्मृति बुधबार संसारभरि बुद्ध जयन्ती मनाइयो । गहिरेर सोच्ने हो भने वैशाख पूर्णिमालाई बुद्ध जयन्तीभन्दा बुद्ध स्मृति वा बुद्धत्व दिवसका रूपमा मनाउनु राम्रो हुन्छ । देवदहमा सिद्धार्थको जन्म, गयामा बुद्धत्व प्राप्त दिन र कुशीनगरमा सद्धर्म प्रवचन दिँदादिँदै निधन भएको दिन संयोगवश वैशाख पूर्णिमा नै थिए । ३५ वर्ष हुँदा बल्ल उनलाई बुद्धत्व प्राप्त भएको थियो । बुद्धत्व प्राप्त दिन र निधनलाई भुसुक्कै बिर्सेर जन्मँदा बुद्ध भइनसकेका सिद्धार्थको जन्मदिनलाई बुद्ध जयन्ती भन्नु परिहासजनक कुरा हो । भाग्यवाद, अन्धविश्वास, यथास्थिति, पूजापाठ, ईश्वर भक्ति, यज्ञ, प्रार्थना, जातिभेद, पुरोहितवाद आदिको प्रतिकारमा उनी ज्ञानको खोजीमा हिँडेका थिए । यस्ता व्यक्तिले पक्कै जन्मदिनलाई महत्वपूर्ण मान्ने थिएनन् होला । वेद, पुराणको सत्ता र पूजा, यज्ञादिका लागि गरिने अन्न र धन नष्ट गर्नुलाई उनी अर्थहीन ठान्थे । आत्माको अस्तित्वलाई नकार्थे । यसैले उनको दर्शनलाई अनात्मवाद पनि भनिन्छ । बुद्ध कुनै पनि कुरालाई अन्तिम सत्य मान्दैनथे । आफ्नै दर्शनलाई पनि उनी सत्य खोजीका लागि हिँड्ने डुंगामात्र भन्थे । कृष्ण, मोहम्मद, क्राइस्टले जस्तो उनले आफूलाई मोक्षदाता भनेनन् । ‘म मोक्षदाता होइन, मार्गदर्शकमात्र हुँ’ उनी भन्थे, ‘मेरो उपदेश अन्तिम सत्य पनि होइन । यो तत्काल मेरो ब्रह्मले देखेको श्रेष्ठ मार्गमात्र हो ।’ बुद्धत्व प्राप्त गरेपछि पहिलोपल्ट ऊरुबेला गाउँका बालबालिकालाई उनले ज्ञान दिए । त्यसपछि असार पूर्णिमाका दिन सारनाथमा आफ्ना पूर्व सहतपस्वी कौडन्न, महानाम, भद्दीय, बप्प र अस्सजीलाई आफूलाई प्राप्त ज्ञानबारे प्रवचन दिए । बौद्ध साहित्यमा त्यसलाई धर्मचक्र प्रवर्तन भनिन्छ । उनले भनेका थिए, ‘मानिस दुःखी छ । दुःखको कारण छ । दुःखबाट मुक्ति पाउन सकिन्छ । मुक्तिको उपाय पनि छ ।’ यसैलाई बुद्धका चार आर्य सत्य भनिन्छ । दुःखबाट मुक्तिका लागि उनले सही दृष्टि, सही संकल्प, सही वाचा, सही काम, सही जीविका, सही प्रयत्न, सही चेत, सही समाधि हुनुपर्छ भनेका छन् । बुद्ध दर्शनलाई शब्दमा होइन, सारमा बुझ्नु जरुरी छ । बुद्धको समयमा जस्तो कठोर व्रत पालना गर्नु, चीवर लगाउनु, मागेर खानु र यौनबाट विरत रहनु बुद्धको प्यारोडी उतार्नुमात्र हो । हामीले हाम्रो चेतनाबाट बुद्धका सम्यक् आँखा हटाइदिएका छौँ । प्रख्यात बौद्ध चिन्तक भदन्त आनन्द कौसल्यायनले भनेका छन्, ‘आजको विकसित समाजमा जन्मेका भए बुद्धले भिक्षुहरूलाई कठोर व्रत पालना गर्न लगाउने थिएनन् होला । सुरक्षित यौन सम्बन्धले आत्मविकासमा वाधा पु¥याउँदैन । आत्मोन्नति यौनभन्दा धेरै उच्च अवस्था हो । चेतनाको आनन्दसामु यौनसुख फिका हुन्छ र स्वतः छुट्छ ।’ बुद्ध भन्थे, ‘ध्यानको अभ्यास गर्दै मनको अज्ञान हटाउन सके कुनै पनि व्यक्ति बुद्ध बन्न सक्छ । आफ्नो मालिक तिमी आफैँ हौ । पुरोहितहरूले जग्गे थापेर कहिल्यै कसैले नदेखेको ईश्वरका नाममा जीवन धान्ने अमूल्य अन्न र घिउतेल स्वाहा गर्नु मुर्खता हो । पुरोहित वा शास्त्रले भन्दैमा नमान । कुनै पनि कुरामा आफ्नै ब्रह्मज्ञान लगाएर जान । आफ्नो दियो आफैँ बन ।’ ईश्वरवादको प्रमुख विशेषता हो, जसोजसो पुरोहित, उसोउसो स्वाहा । पुरोहितले भनेअनुसार श्राद्ध, यज्ञ, पूजा, प्रार्थना र दान ग¥यौ भने मृत्युपछि तिमी अवश्य स्वर्ग पुग्छौ । बुद्धले यही कुराको विरोध गरे । उनले मनको अँध्यारो र अज्ञान हटाएर जिउँदै आनन्दित र मुक्त जीवनको स्वर्ग भोग्न पाउने उपाय सुझाए । त्यसैले त आइन्सटाइनदेखि बर्टेन्ड रसेलले समेत बुद्ध दर्शनलाई संसारकै सबैभन्दा मानवीय दर्शन घोषणा गरे । विडम्बना, ईश्वरवादका प्रखर आलोचक तिनै बुद्धलाई पनि पण्डाहरूले ईश्वरको जामा पहि¥याएर धर्मको व्यापार गरे । योगी डा. विकाशानन्दको किताब ‘विद्रोह’ का अनुसार आज संसारमा सबैभन्दा बढी बुद्धकै मूर्तिहरूको व्यापार र पूजा हुन्छ । उनकै नाममा संसारमा सबैभन्दा धेरै मन्दिर बनेका छन् । अजन्ता र एरोला गुफा बुद्धका मूर्तिले भरिपूर्ण छन् । मलेसियाको पेनाङमा रहेको बुद्ध मन्दिरमा दस लाख बुद्धमूर्ति छन् । हङकङस्थित न्यु टेरिटोरिजको एक बिहारमा सुनका दस हजार बुद्ध मूर्ति छन् । चीनमा संसारकै सबैभन्दा ठूलो ७१ मिटरको बुद्धमूर्ति छ जसको नाकको प्वालमै दुई–दुई मान्छे अट्छन् । खुट्टाको बीचबाट दुई–दुई ट्रक एकैपल्ट छिराउन सकिन्छ । अन्धविश्वासविरुद्ध बुद्धले जिन्दगीभर प्रतिवाद गरे । आज उनकै नाममा अन्धविश्वास फैलाइँदैछ । उनकै पुनर्जन्मका अनेकथरी बतासे कथा चलाइएको छ । कम्युनिस्ट राष्ट्र चीनको क्यान्तोन प्रान्तको एक बौद्ध मन्दिरमा बुद्धमूर्तिसामु मानिस वर्षा गराउन र रोग निको पार्न भनी प्रार्थना गर्न जान्छन् । कर्मकाण्डको निरर्थकता ईश्वरवादी गया काश्यपले एकपल्ट बुद्धलाई सोधे, ‘गौतम, तपाईँले भन्नुहुन्छ, ध्यान–साधनाको अभ्यास र सबै पदार्थप्रति सचेत दृष्टि राखेरै मुक्ति प्राप्त हुन सक्छ । त्यसो भए यज्ञ, भक्ति साधना र प्रार्थनाहरू व्यर्थ हुन् त ?’ नैरञ्जना नदीको अर्को किनारातर्फ संकेत गर्दै बुद्धले भने, ‘काश्यपजी, यस नदीको अर्को किनारामा जानुप¥यो भने तपाईँ के गर्नुहुन्छ ?’ ‘पानी कम छ भने हिँडेरै पुग्न सकिन्छ । अन्यथा, पौडेर वा डुंगाद्वारा जानुपर्ने हुन्छ ।’ ‘कुनै मान्छे पैदल, पौडी र डुंगाजस्ता कुनै पनि माध्यम नअपनाई पारि पुग्न पाऊँ भनेर यज्ञ, पूजा, भक्ति, प्रार्थना गर्न थाल्यो भने ऊ नदीको पारि पुग्न सक्छ र ?’ यस तर्कबाट काश्यप कति प्रभावित भए भने तत्काल उनले आफूलाई शिष्य स्विकार्न बुद्धसँग आग्रह गरे । यस्तो थियो बुद्धको प्रत्यक्ष अनुभवमा आधारित सम्यक् दृष्टि http://www.nagariknews.com/opinion/story/18064 ——by @UC Browser
Posted via Blogaway
Comments
Post a Comment